Saturday, March 16, 2013

सन्दर्भ विश्वावसु


आयो यो नववर्ष शान्ति सुखको सन्देशले शोभित
ल्याई ती अब आउने दिन बनून् सर्वत्र आनन्दित
यी प्राणी र वनस्पती प्रकृतिको वात्सल्य पाएपछि 
यो विश्वावसु नै सुखावह बनोस् वैशाख लागेपछि ।

पाखा पर्वत खेत चौर हरिया विस्तीर्ण बेसीतिर
मिल्दो भै जलवायु मौसम तथा ती खेतबारीतिर
उब्जा उन्नत शश्य श्यामल बन्यो धर्ती रसाएपछि
यो विश्वावसु होस् सदैव रसिलो वैशाख लागेपछि ।

आआँफै अनुशासन प्रिय बनून् यी देशवासी सबै
पीडा आतुरता र शोक नपरोस् निर्धक्क बाँचून् सबै
चाहन्थ्यौँ अनुकूल तन्त्र सबमा सद्भाव फैलेपछि
यो विश्वावसु बस्छ वर्षभर नै वैशाख लागेपछि ।

मिल्दो भै जनभावना सकलको संयुक्त अन्तर्मन
त्यो वैषम्य र फूट नरही एकै बन्यो चिन्तन
यौटा सम्मति यो छ राष्ट्रहितमा सम्पूर्ण फर्केपछि
यो विश्वावसु नित्य प्रेरक बनोस् वैशाख लागेपछि ।

सारा लोक समृद्ध जागृत बनी सच्चेतनामा उठून्
वासन्ती हरियालीमा मिलिजुली सम्पूर्ण प्राणी जुटून् 
राम्रा ती शुभकृत र शोभन तथा क्रोधी गए त्यस्पछि
यो विश्वावसु नै सधैँ शुभ गरोस् वैशाख लागेपछि ।

ती सञ्चालित योजना र जति छन् उद्योगधन्धाहरू
नेपाली जनचेतना लहरमा खुल्ने र चल्ने अरू
सत्साहित्य कला र भावुक गला मीठा पलाएपछि
स्रष्टामा कृतितर्फ जाँगर बढोस् वैशाख लागेपछि ।

यदुनाथ सरल

No comments:

Post a Comment