Wednesday, April 10, 2013

जन्मभूमि सदा प्रिय




दुवै ती सरिता मिल्दा बेसी सत्रसये निर
सम्झी ईश्वर फर्कन्छौँ हामी पूर्व दिशातिर

आज यो शुभ बेलामा श्रद्धा–पुष्प यिनै मिले
प्यारो बस्ती दुराडाँडा सम्झनाका तरङ्गले

जति नै देवदेवीमा भक्तिभाव अनन्य छ
जन्मभूमि तिमीतर्फ त्यति नै अनुराग छ

पुरानो कोट फोस्रेको तुर्लुङे भेकको पनि
गर्दी सेँचन धर्तीमा खेल्दछिन् तटिनी उनी

सिकता पेलिने गाथा किर्किरी धुन गुञ्जँदी
केके सौगात ली झर्छिन् किरिन्चे कल्कलाउँदी

नेटा थान्सिङ खोस्रेर पाउँदी मन्द वेगमा
सर्पको चालले झर्छिन् तल सम्थर फाँटमा

उनै भागीरथी देवी मालिकाको सुशीतल
जल बग्छ सदा काल पखाली पाउ मञ्जुल

यी दुवैको सफा हावा कल्कल ध्वनिले सदा
पञ्चतत्व मिलेको छ सानन्द घुम्न पाउँदा

धरणी तल छोएर टेक्दा ती पाइलाहरू
आनन्द मिल्छ भन्छन् रे स्वर्गका देवताहरू

धन्य सम्झन्छु यो बस्ती जन्मी हुर्केंबढेँ जहाँ
मिलेको सुख ऐश्वर्य जेजति छ सबै यहाँ

वन खेत र पाखाको वातावरण शुद्ध छ
सदैव गाउँमै बस्ने मुराद मनभित्र छ

एउटा खिन्नता यो छ गाउँ नै शून्य भैदिँदा
छिटै नै पूर्णता आओस् यही आशा छ सर्वदा

यदुनाथ सरल

आदर्श महिमा




आदर्श पत्नी पतिलाइ चाहिए
आदर्श उस्तै पतिदेव भैदिए
समस्त भू यो सुरलोक बन्दथ्यो
दाम्पत्य संसार धपक्क बल्दथ्यो ।

- यदुनाथ सरल

हेमन्त चर्चा




अध्येता बाबुनानीहरू, यो अङ्कमा हेमन्त ऋतुको बारेमा चर्चा गर्दैछु । यो उपजाति छन्दमा छ । अरू ऋतुहरूको चर्चा पनि आगामी अङ्कमा क्रमशः प्रस्तुत हुने नै छन् ।

हेमन्त ठन्डी सुरुमै हुनाले
प्राणी सबै थर्थर काम्न थाले
खाने कुरा जे छ रुचेर पच्छ
परन्तु ठिक्कैसँग खानुपर्छ ।

हेमन्तमा भिन्न कथा विशेष
भरी भकारी धनधान्य वेश
विपन्न होस् तापनि हुन्छ तुष्ट
सम्पन्नकै छाँट उही दुरुस्त ।

जाडो बढे तापनि खान बस्न
प्रशस्त उस्को त्यतिखेर धन्य
छ लोक सानन्द धनी समान
विशेषता यो ऋतुमा महान ।

यो पञ्चमी मङ्सिर शुक्लपक्ष
हेमन्त अन्तर्गत चारु स्वच्छ
आयोजना उत्सव यो विचित्र
विदेहको देश यसै पवित्र |

श्रीरामसीता शुभ त्यो विवाह
दाम्पत्यका लागि नयाँ प्रवाह
त्यो शश्यले श्यामल शुभ्र वेश
रमाइलो हुन्छ त्यहाँ विशेष ।

-- यदुनाथ सरल 

सम्झौँ चरी सर्वोपरि




जोडी ढुक्कुर आउँछन् वरिपरि केही नमानी डर
तिन्का निम्ति म पातमा अलिकति खाना लिई बाहिर
टक्य्राए पछि ती टपाटप टिपी खाएर एताउति
घुम्छन् आँगनमा डुली दिनभरी चारा मिल्यो हो कति ?

बच्चालाई बचाउने सँगसँगै साथी बनी ईश्वर
त्यो संरक्षक भै सदैव यिनको आधारकै खातिर
बन्दै नित्य दयालु जीवहरूको टेवा र सेवा दिई
बस्तो हो हितका निमित्त सबका भित्रै छिपेरै रही ।।

धर्तीका प्रिय जीवतर्पm रहने सर्वोच्च सञ्चालक
यौटा स्तुत्य अदृष्ट शक्ति जुन हो हाम्रो सदा पालक
लत्याई परमेशलाई शठले गर्छन् अनास्था भने
पश्चाताप शिवाय आखिर कतै क्यै छैन भेट्टाउने ।।

Saturday, March 16, 2013

मनकामना दर्शन यात्रा



ब्यूँझी चार बजे प्रातः चाहिने के छ त्यो झिकी
सौचस्नानादि सिद्ध्याई जपपाठ सबै सकी
शुभ साइतमा निस्क्यौँ सम्झँदै मनकामना
दर्शनार्थी सबै भित्र थियो सफल चाहना ।

म तथा श्रीमती छोरी हामी तीन सँगै थियौँ
नातिनी भेटिई साथै फेरि चार जना भयौँ
कुरिन्टार झरी झट्टै केवुलकार चढी गयौँ
छङ्गाछुर उकालोमा अविराम छिटै पुग्यौँ ।

जब माथि पुगी देख्यौँ अधित्यका फराकिलो
धेरै पसल सामान थरीथरी रमाइलो
शताब्दी अधिदेखिको सजावट निरन्तर
कलाकौशल झल्केको विद्यमान छ मन्दिर ।

छहारी मय साथै छ त्यो ठूलो चाँपको रूख
चिटेका झ्याल ढोकामा बुट्टा विचित्र सम्मुख
त्यहाँको दृश्य राम्रो छ हेरिरहूँ घुमिरहूँ
प्रिय दर्शक देख्नेछन् धेरै गन्थन के कहूँ ।

सम्पुज्य जननी हुन् तिनी सबैकी मनकामना
दिएनन् भित्र गै हेर्न किन त्यस्तो विडम्बना ?
खर्च दुःख गरी आयौँ देवीमा गर्न दर्शन
त्यो पूर्ण हुन पाएन खिन्न भो भक्तको मन ।

हाम्रो गन्तव्यमा इच्छा देवी दर्शनकै थियो
हुँदै विवश फिर्ती त्यो स्वस्थानतिर मोडियो
वैज्ञानिक चमत्कार प्रविधि त्यो विचित्र छ
सात–आठ जना अट्न सकिने सिट भित्र छ ।

दातृ संस्थाहरुका ती योजना अर्थतन्त्र र
आगन्तुक हरुबाट उठेको दान दस्तुर
समावेश गरी सिद्ध योजना हो कि यो पनि
धर्म कल्याणको काम बेस ठान्दछ जो पनि ।

वैशाख आऊ तिमी



वर्षै नूतन भैसके दिन तथा यी रात नौला बनी
शिष्टाचार रहेन देश दुनियाँ छन् खिन्न सारा तिनी
नौला वर्ष अनेक सुन्छु तर खै प्यारा कता छौ भनी
आशा राखी म पर्खिएर बसुँला वैशाख आऊ तिमी ।

हामीले अझ पर्खनै छ मनका इच्छा सँगालीकन
यादै लुप्त हुने भयो रहरको प्यासी बन्यो जीवन
फुल्लान् फूल अनेक ती थरीथरी बेली चमेली पनि
बन्दै भाव विभोर पर्खिरहुँला  वैशाख आऊ तिमी ।

उब्जेका मनका पुरातन कथा ताजा रहून् भन्नु छ
कोही सज्जन भेटिए वरिपरी मीठा कुरा सुन्नु छ
निस्की स्वर्ण प्रभातले मुलुकमा देखाउला यो पनि
खाँचो नै छ यहाँ नयाँ समयको वैशाख आऊ तिमी ।

बस्ती विस्तृत बन्नुपर्छ मनमा उद्देश्य उब्जाउन
पीडा आतुरता हटी हृदयमा त्यै चाहना ल्याउन
आई त्यो ऋतुराजमा मिलिरहोस् उत्साहको सन्सनी
उर्लन्छन् नवसिर्जना हृदयमा वैशाख आऊ तिमी ।

नौला शब्द समेटिँदै दिनदिनै सर्वत्र गुन्जी रहून्
चिन्ता भोक र शोकले पिरलिने यो जिन्दगीमा नहून्
नौलोबाट हुँदै सशङ्कित अरू सोच्दै नसोचे पनि
चासो यै छ यहाँ नयाँ विषयको वैशाख आऊ तिमी ।

यी साहित्यिक बन्धु फेरि अरू ती उद्योगका सर्जक
चाहन्छन् हरएक नूतन कला बन्दै समालोचक
यो स्वाभाविक कल्पना हृदयमा फुर्ने हुनाले पनि
स्थायी प्रेरक भै यथासमयमा वैशाख आऊ तिमी ।

लागून् घाम यहाँ सधैँ ठीकठीकै चर्को खडेरी नहोस्
वर्षा, हूरी असाध्य भै मन रुने त्यस्तो अवस्था नहोस्
मिल्दो मौसममै समग्र हितमा शीतोष्ण सञ्जीवनी
सन्तोषी पन थप्न यो मुलुकमा वैशाख आऊ तिमी ।


— यदुनाथ सरल


मेरो जन्म र कर्मथलो



मेरो जन्मथलो गिरेचौर हो आनन्दको सागर
साथीभाइ थिए मिजासी मनका ऐले भए ती पर
हुन्थे मेल र खेलका समयमा सल्लाह आपस्तमा
ज्यादै बेस थिए सबै उनीहरु ताजा छ यो सम्झना ।।१।।

हामी बस्तु चराउँथ्यौँ वरिपरि त्यो रम्य डाँडामनि
ती पाखा र बनेली भव्य अलछी ढुङ्गा र छानामनि
ढोका थापी त्यही समीप प्रहरी ठाना हुँदो हो अघि
त्यो डाँडो छ पहारिलो सब खुला बाटो सजिलो त्यही ।।२।।

मीठा ज्यामिर सुन्तला र कमला च्युरी र बेलाउती
खाई मक्ख भएर खेलहरुमा आनन्द यताउति
मेला पात र अर्म पर्म कहिले जन्ती मलामी पनि
हुन्थे मेलमिलाप गाउँघरमा सच्चा छिमेकी बनी ।।३।।

यौटा ठाँटी थियो छ है अझ खडा पुर्खाहरुले सजी
सानो त्यो कुटीमा थिए हँसमुखी श्री कर्पुरा नन्दजी
ठूला पीपल आँपका रुख थिए फल्थे रसिला फल
खेल्थ्यौँ पीङ रमाइलो चउर त्यो सम्झी रसायो दिल ।।४।।

ठाँटीभित्र चिरञ्जीवी नरहरि श्री प्रेमराजै गुरु
आई शिक्षण कार्यमा रत थिए, सम्पूर्ण हामीहरु
विद्यार्थी जतिजो थिए पठनले प्रख्यात धेरै भए
पढ्थ्यौँ ज्योतिष कौमुदी संस्कृतकै साहित्य भाषा थिए ।।५।।